२०८३, कार्तिक ५ गते

बुधवार, कार्तिक ५ गते २०८३

रसुवाका बाढीपीडितलाई ठमेल पर्यटन विकास परिषदद्धारा राहत सामाग्री सहयोग

सोमवार , भाद्र २२, २०८३

काठमाडौँ, २२ भदौ । ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामाग्री सहयोग गरेको छ ।

परिषदले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रत्यक्ष मारमा परेका उत्तरगया गाउँपालिका–१ र २ का बासिन्दालाई आज खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो ।

परिषद्का अध्यक्ष राजुमान डङ्गोलको नेतृत्वमा गएको टोलीले दुई दिन लगाएर उत्तरगया गाउँपालिका–१ र २ मा पुगी त्यहाँका १२० घरधुरीलाई स्थानीय सरकारको समन्वयमा उक्त राहत सामाग्री वितरण गरेको हो । अध्यक्ष डङ्गोलले प्रभावित परिवारलाई तत्कालको गर्जो टार्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको बताउनुभयो ।

परिषद्ले १२५ बोरा चामल, १५० किलोग्राम दाल, १०० लिटर तेल, १७५ किलोग्राम नुन, ५० किलोग्राम सोयाबिन, ७५ किलोग्राम चिउरा सहयोग गरेको छ । यस्तै, खाद्यान्नमा चाउचाउ, बिस्कुट तथा जुससमेत सहयोग गरेको हो ।

यसैगरी, लत्ताकपडामा ३७० थान तयारी पोसाक ९टिसर्ट, पाइन्ट, ज्याकेट, साडी०, २०० जोर जुत्ता र २०० जोर चप्पल, ५२ थान सिरक, १६ थान डसना, २० थान ब्ल्याङ्केट, ८५ थान सिरानी सहयोग गरेको परिषदका महासचिव पशुपति कँडेलले जानकारी दिनुभयो ।

यस्तै, भान्छाका सामाग्रीमा १०० थान थाल, १०० थान गिलास, प्रेसर कुकर, कराई र चम्चा रहेका छन् भने स्वास्थ्य तथा सरसफाइका सामाग्रीमा जीवनजल, औषधी, ब्यान्डेज, स्यानिटरी प्याड र ट्वाइलेट पेपर रहेको महासचिव कँडेलले बताउनुभयो ।

पर्यटन क्षेत्रको अग्रणी संस्था ठमेल पर्यटन विकास परिषद्ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिको समयमा सधैँ सहयोग गर्दै आएको र यसपटक पनि रसुवाका पीडितको घाउमा मलम लगाउने प्रयास गरेको जनाएको छ । 

राहत वितरणका लागि संस्थाका अध्यक्ष डंगोलसहित प्रथम उपाध्यक्ष राजीव पाण्डे, द्धितीय उपाध्यक्ष दावा तामाङ, महासचिव पशुपति कँडेल, सचिव दिलिप कँडेल, कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठ, सदस्यद्धय विश्वमान प्रधान र अनिल रेग्मीलगायत रसुवा जानुभएको थियो । 

ताजा अपडेट

चर्चित

सम्बन्धित समाचार