काठमाडौँ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय विराज भक्त श्रेष्ठले आज धरान सबस्टेशनको स्थलगत अनुगमन गर्नुभएको छ।
धरान सबस्टेशनबाट धरान उपमहानगरपालिका, बराह क्षेत्रसँगै उदयपुरसम्म विद्युत् सेवा प्रवाह हुँदै आएको छ।
धरानको विद्युत् आपूर्तिलाई थप भरपर्दो र सुदृढ बनाउन नयाँ ट्रान्सफर्मर जडान तथा सबस्टेशन स्तरोन्नतिको काम अघि बढाइएको छ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले प्राप्त भइसकेका ट्रान्सफर्मर तत्काल जडान गरी बाँकी कामसमेत तीव्र गतिमा अघि बढाउन तथा धरानवासीलाई नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
धरानको दीर्घकालीन विद्युत् समस्या समाधान गर्दै भरपर्दो विद्युत् सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ।